शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षाको सम्भावना

बिहिबार, भाद्र १८ २०८३

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ती जिल्लामा भारी वर्षाको सम्भावना भने न्यून रहेको विभागको भनाइ छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना कम छ। यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने उहाँले बताउनुभयो।

उहाँका अनुसार मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भएकाले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।