शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार, चार हजारभन्दा बढी अझै सम्पर्कविहीन

बिहिबार, भाद्र १८ २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार राहत तथा उद्धारसँगै सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्।

बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ। बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला बाढीबाट प्रभावित भएका छन्।

हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको प्रवक्ता महतले जानकारी दिनुभयो।

हवाई उद्धारमा सेनाको प्राथमिकता

विपद्का समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ। बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको थियो।

निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग भइरहेको छ। सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट नागरिकको उद्धार गर्नुका साथै राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।

विभिन्न क्षेत्रका नागरिक अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम जारी रहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा र अत्यावश्यक सामग्रीको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।