शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यो रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिङ्गो नेपालको छातीमा परेको बज्रपात हो : प्रधानमन्त्री

बुधबार, भाद्र १७ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्का कारण मन भक्कानिए पनि अहिले एकआपसमा बिलौना गर्ने समय नभएको बताए। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्त अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।

‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ उनले भने।

प्रधानमन्त्री शाहका अनुसार उनको अध्यक्षतामा बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो। बैठकले प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राख्दै तत्काल आवश्यक कदम चाल्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको थियो।

घटना भएको बिहानै मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वयको काम अघि बढाइएको उनले बताए।

जोखिमलाई ध्यानमा राख्दै पृथ्वीराजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन स्थानीय प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई अनुरोध गरिएको उनले जानकारी दिए।

जोखिमयुक्त क्षेत्रमा यातायातलगायत आवतजावतमा पूर्ण रोक लगाई नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए।

खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए। आवश्यकताअनुसार प्रभावित क्षेत्रमा थप हवाई तथा स्थल उद्धारका स्रोतसमेत परिचालन गरिएको उनले बताए।

सरकारले रसुवा र नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँका दरले तथा धादिङ जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ थप निकासा गरेको छ।

प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको बताए।