काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकसम्म सरकार प्रभावकारी रूपमा पुग्न नसकेको आरोप लगाएकी छन्।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले उद्धार तथा राहतमा सरकारको समन्वय कमजोर देखिएको बताइन्। विपद्का बेला सरकारका मन्त्री तथा सांसदहरू सामाजिक सञ्जालमा प्रचारप्रसारमा व्यस्त देखिए पनि प्रभावित नागरिकले सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न नसकेको उनको टिप्पणी छ।
मन्त्री तथा सांसदहरूले उद्धारमा खटिएको देखाउने तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे पनि त्यसले प्रभावित क्षेत्रको वास्तविक अवस्थाको चित्रण नगरेको उनले बताइन्।
“सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ। सोसियल मिडियाको अल्गोरिदम चुनाव जस्तै हाइपमा छ। तर सरकारका समर्थक, कार्यकर्ता र नेताहरूले के लेखिरहेका छन्, सोसियल मिडियामा के म्यासेज दिइरहेका छन्, त्यसले सरकार कति प्रभावकारी काम गरिरहेको छ भन्ने देखिन्छ,” झाँक्रीले भनिन्।
कतिपय सांसदले उद्धारमा खटिएको भन्दै फोटो सार्वजनिक गर्ने र हेलिकप्टरमा चढेको तस्वीर राख्ने गरेको भन्दै उनले आलोचना गरिन्। मन्त्रीहरूले समेत टनेलभित्र उद्धारमा खटिएको तस्वीर तथा सामग्री सार्वजनिक गर्नेबाहेक प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ।
यद्यपि, विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती प्रशासनले गरेको काम भने प्रशंसायोग्य रहेको झाँक्रीले बताइन्।
जलवायु परिवर्तनका कारण आगामी दिनमा अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका प्राकृतिक विपद् दोहोरिन सक्ने भन्दै उनले सरकार र नागरिक दुवैले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
झाँक्रीले एमालेले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिइन्।