शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढीपीडितका लागि नेसनल लाइफ इन्स्योरेन्सको १ करोड ५१ लाख सहयोग

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

गत भदौ १० गते गेग्य्रानसहित आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो।

सहयोग रकम बराबरको चेक नेसनल लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

कम्पनीले अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न आफ्ना कर्मचारी तथा अभिकर्तालाई आग्रह गरेको छ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ।