शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढी : एउटै घरमा २३ जनाको शव

मंगलबार, भाद्र १६ २०८३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरबाट २३ जनाका शव फेला परेका छन् ।

मंगलबार खोज तथा उद्धारका क्रममा घरको एउटै कोठाबाट २१ जना र घरको बाहिरी भागबाट थप दुई जनाका शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत बुधबार भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पुरिएको तीनतले घरको माथिल्लो तलाको कोठामा शवहरू फेला परेका हुन्। बाढीबाट जोगिन घरको माथिल्लो तलामा पुगेका व्यक्तिहरू नै बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

फेला परेका शवहरूको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। प्रहरीले उनीहरू तीर्थयात्री हुनसक्ने अनुमान गरेको छ ।

‘एउटै कोठामा २१ जना र बाहिरपट्टि दुई जनाको शव भेटिएको हो। एउटा शव विदेशी नागरिकको जस्तो देखिन्छ,’ उद्धारमा संलग्न प्रहरी अधिकारीले भने, ‘शवसँगै झोलाहरू पनि भेटिएका छन्। उनीहरू गोसाइँकुण्डतर्फ हिँडेका तीर्थयात्री हुनसक्ने अनुमान गरेका छौँ।’

उनका अनुसार बाढीको पानी बढ्दै गएपछि उनीहरू ज्यान जोगाउन घरको माथिल्लो तलामा पुगेको जस्तो देखिएको छ। तर बाढीको तीव्र बहावका कारण उनीहरू त्यहीँ पुरिएको हुनसक्ने उहाँले बताउनुभयो ।

‘छतभन्दा मुनिको कोठामा शवहरू भेटिएका छन्। एकजना महिलाले सानो बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘उनीहरू आमाछोरी हुनसक्छन्। बाढीबाट जोगिन भागेर एकै ठाउँमा जम्मा भएको समयमा सबैलाई बाढीले पुरेको जस्तो देखिन्छ।’

उद्धार टोलीले घरबाट २३ वटा शव निकालिसकेको छ। तीमध्ये आठ वटा शव सोमबार साँझ त्रिशूली अस्पतालमा लगिएको उहाँले जानकारी दिए ।