शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मंगलबार, भाद्र १६ २०८३

मुस्ताङ । मुस्ताङका स्याउ बगैँचामा छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायले छिटो पाक्ने स्याउ टिप्ने समय भदौ १५ गते तोकेपछि किसान तथा व्यापारीले स्याउ टिप्न थालेका हुन् ।

स्याउको गुणस्तर कायम राख्दै व्यवस्थित बिक्री वितरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन तथा कृषक प्रतिनिधिको सहभागितामा छिटो र ढिलो पाक्ने स्याउ टिप्ने कार्यतालिका निर्धारण गरिएको थियो ।

कार्यतालिकाअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाइने व्यवस्था गरिएको छ । मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर कायम राख्न, बजारको माग पूरा गर्न तथा जिल्लाको स्याउको ख्याति कायम राख्न स्याउमा पर्याप्त गुलियोपना आएपछि मात्रै टिप्ने व्यवस्था गरिएको हो ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सोमबारदेखि जिल्लाका विभिन्न क्षेत्रमा छिटो पाक्ने स्याउ टिप्न सुरु भएको जानकारी दिए । उनका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अर्ली भेराइटीका गाला र गोल्डेन जातका स्याउको टिपाइ सुरु भएको छ ।

उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड गाला र गोल्डेन जातका स्याउ किसानका बगैँचामा धमाधम टिपिँदै छन् । हरितालिका तीजलाई लक्षित गरी किसान तथा व्यापारीले छिटो पाक्ने स्याउ बजारमा पठाउन टिप्न सुरु गरेको अर्यालले बताए ।

घरपझोङका किसान भीम गुरुङको बगैँचामा पनि सोमबारदेखि स्याउ टिप्न सुरु गरिएको छ । ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङका अनुसार जिल्लास्तरीय स्याउ टिप्ने कार्यतालिकाअनुसार स्याउ टिप्ने, ग्रेडिङ, नापतौल तथा प्याकेजिङ गरी काठमाडौं पठाउने तयारी भइरहेको छ ।

गुरुङको बगैँचामा स्याउ टिप्ने, क्रेटमा राखेर स्टोरमा लैजाने, ग्रेडिङ, नापतौल, प्याकेजिङ तथा लोडिङका लागि करिब तीन दर्जन कामदार परिचालन गरिएको छ । ४० रोपनी क्षेत्रफलमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ टिपेर दुई दिनभित्र काठमाडौं पुर्‍याउने योजना रहेको व्यवस्थापक तामाङले बताए ।

उच्चघनत्व प्रविधिबाट उत्पादित हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भने भदौपछि मात्रै टिपिने उनले जानकारी दिए ।

यसैबीच, घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मले पनि स्याउ टिप्ने तयारी गरेको छ । तर, काठमाडौं जाने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको फार्मका व्यवस्थापक आइतराम तामाङले बताए । फार्ममा उत्पादन हुने छिटो तथा ढिलो पाक्ने सबै जातका स्याउ काठमाडौंमा बिक्री गर्ने योजना रहेको उनले बताए ।

स्याउ टिप्ने सिजन सुरु भएसँगै मुस्ताङका बगैँचा लटरम्म स्याउले भरिएका छन् भने व्यापारीको चहलपहलसमेत बढेको छ । व्यापारीले साउनअघि नै किसानका बगैँचामा पुगेर बैनापट्टा गर्ने र सिजन सुरु भएपछि स्याउ सङ्कलनका लागि मुस्ताङ आउने गरेका छन् ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष जिल्लामा करिब ९० करोड रुपैयाँभन्दा बढीको स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिर निर्यात भएको थियो भने २० प्रतिशत स्थानीय बजारमै खपत भएको थियो ।

मुस्ताङमा करिब एक हजार चार सय हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ । पछिल्लो समय किसानमा छिटो उत्पादन दिने र उत्पादन तथा व्यवस्थापन सहज हुने उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीप्रति आकर्षण बढ्दै गएको छ ।