शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सोमबार, भाद्र १५ २०८३

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भदौ १५ गते बिहान ९ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीमा बगाएका शव विभिन्न जिल्लामा फेला परेका हुन्। चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये केही मानव अङ्ग मात्र रहेको र पहिचान हुन नसकेका शवलाई विभिन्न २१ अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।

बाढीमा परी हालसम्म २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि घर फर्किएका छन् भने अन्य घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा छ वटा विशेष सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

सम्पर्कविहीन हुनेमा रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, विभिन्न जलविद्युत् आयोजनाका ९३३ र विदेशी नागरिक ५९२ जना रहेका छन्। त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८३ जना तथा भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीनको सूचीमा छन्।

खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म ४११ पटक उडान गरी १० हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ।

यसैगरी, राहत वितरणलाई पनि तीव्रता दिइएको छ। सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि भने कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्थल तथा हवाई मार्गबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने क्रम जारी छ। हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ। भदौ १४ गते रसुवाका लागि पाँच वटा पोर्टेबल जेनेरेटर, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको थियो भने नुवाकोटमा १६ वटा सवारीसाधन र हेलिकप्टरमार्फत राहत परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा इन्धनको मौज्दातसमेत पर्याप्त रहेको छ। हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको जनाइएको छ।