काठमाडौँ । भोटेकोशी बाढी र अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात तथा पैदल आवतजावतसमेत पूर्ण रूपमा बन्द भएको छ ।
त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण मुगुबाट गमगढी जाने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडक पनि अवरुद्ध भएको छ ।
यसैगरी, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ ।