शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ परिवारको सम्पर्कमा

सोमबार, भाद्र १५ २०८३

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा पुगेका काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका ४७ जनामध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कविहीन ४१ जनाको अद्यावधिक नामावलीसमेत कार्यालयले सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, भ्रमणलगायत विभिन्न कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न प्रशासनले पहल गरिरहेको छ । उहाँले कुनै परिवारका सदस्य सम्पर्कविहीन रहेको भए तत्काल प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

प्रशासनले बाढी प्रभावित क्षेत्रमा पुगेका नागरिकलाई पनि सम्भव भएसम्म तत्काल आफन्तसँग सम्पर्क गर्न आग्रह गरेको छ । साथै, आफन्तले उनीहरूको अवस्था बुझी सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।

कार्यालयका अनुसार हाल सम्पर्कविहीन रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन तथा मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना छन् । एक जनाको ठेगाना नखुलेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लावासीको खोज तथा उद्धारका लागि प्राप्त सूचनाका आधारमा आवश्यक समन्वय गरिरहेको जनाएको छ ।