शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत

सोमबार, भाद्र १५ २०८३

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको अस्थायी व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २७२ शव फेला परेका छन् । तीमध्ये १२ शवको सनाखत भइसकेको छ भने सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ । सनाखत भएका शव परीक्षणपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

व्यवस्थापन गरिएका शवको डिएनए नमूना सुरक्षित राखिएको छ । साथै, पछि बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण मिलेको अवस्थामा शव पहिचान गरी निकालेर आफन्तलाई हस्तान्तरण गर्न सकिने गरी प्रत्येक शवको स्थानमा सङ्केत चिह्न राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका तथा ८७ वटा मानव अवशेष रहेका छन् ।

त्रिशूली र नारायणी नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । शवको खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।