काठमाडौँ । देशभर मनसुनी गतिविधि सक्रिय रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
देशका पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी प्रदेशको हिमाली, पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ ।