काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी तथा विशेषज्ञ टोलीले खोजी र उद्धारकार्य जारी राखेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भदौ १२ गतेदेखि सुरक्षाफौजले निरन्तर प्रयास गर्दै आएको छ ।
गएराति प्रभावित क्षेत्रमा वर्षा हुनुका साथै भोटेकोशी नदीको बहाव बढेपछि केही समय उद्धारकार्य रोकिएको थियो । नदीको बहाव घटेसँगै पुनः उद्धारकार्य सुरु गरिएको सेनाले जनाएको छ ।
उद्धार अभियानमा विशेषज्ञसहित ९३ जना सुरक्षाकर्मी तथा प्राविधिक संलग्न छन् ।
यसैबीच, प्रभावित जिल्लामा करिब आठ हजार ४०० भन्दा बढी सुरक्षाफौज परिचालन गरी उद्धार तथा राहत कार्यमा समन्वयात्मक रूपमा खटाइएको सेनाले जनाएको छ ।
सेनाका अनुसार आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी क्षेत्रबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरिएको छ ।