शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्ने कांग्रेसको निर्णय

आइतबार, भाद्र १४ २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा निम्तिएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीच भएको छलफलमा कांग्रेस सभापति गगनकुमार थापाले विपद्का बेला सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताए। उनले सरकारका काममा देखिएका कमजोरी र ‘ग्याप’ औँल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पारे ।

सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धारका लागि स्वदेशी विज्ञताको क्षमता पर्याप्त नहुने अवस्था देखिए विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताए। विपद्का बेला छिमेकी तथा अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको उनको भनाइ छ ।

विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उनले संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न सुझाव दिए । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनले बताए ।

मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव तथा कार्यक्रम नगर्न सभापति थापाले निर्देशन दिए । अहिलेको सम्पूर्ण ध्यान उद्धार, राहत सङ्कलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

“हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,” सभापति थापाले भने, “हरितालिका तीजलगायत पर्वलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु ।”

यसैबीच, सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रत्यक्ष प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा राहत समन्वयका लागि परिचालन हुने भएको छ । प्रभावित क्षेत्रमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने सभापति थापाले बताए ।