शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

आइतबार, भाद्र १४ २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म १६ देशका २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न ट्राभल कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा गएका र बाढीपछि सम्पर्कविहीन भएका पर्यटकको उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना छन् । त्यस्तै, देश र परिचय खुल्न नसकेका २१ पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ ।

बाढीमा परी अझै ३२० पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ । प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवाला निकाय परिचालन भएका छन् ।

घाइते तथा विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ ।

पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाउँदै पर्यटन बोर्डले सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ । कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ ।