चितवन । त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट चितवनको भरतपुर–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म सुरक्षित राख्न कठिन भएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार शव व्यवस्थापन सुरु गरिएको हो ।
चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये नौ जनाको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शनिबारसम्म पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ । बाँकी शव व्यवस्थापनको प्रक्रिया जारी छ ।
डिएनएका लागि नमूना सङ्कलन भइसकेका तर आफन्तबाट पहिचान हुन नसकेका शवलाई क्रमशः देवघाटमा लगेर व्यवस्थापन गरिनेछ । प्रत्येक शवलाई करिब १.५ मिटर गहिरो खाडलमा छुट्टाछुट्टै राखिने र एउटा शवदेखि अर्को शवबीच ४० सेन्टिमिटर दूरी कायम गरिने व्यवस्था गरिएको छ ।
भविष्यमा डिएनए परीक्षणबाट पहिचान खुलेमा सहजै निकाल्न सकिने गरी शव व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए । उनका अनुसार प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ । शव व्यवस्थापन गरिएको स्थानमा स्ट्यान्ड राखेर त्यसमा सम्बन्धित कोड नम्बर उल्लेख गरिने र सामान्य कङ्क्रिट ढलानसमेत गरिनेछ ।
भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा कश्यप श्रेष्ठले शवको पहिचानलाई प्राथमिकतामा राखेर फरेन्सिक, डेन्टल तथा अन्य स्वास्थ्यकर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताए । नदीमा लामो समय रहेका कारण शव सड्ने तथा गल्ने र बाह्य स्वरूपबाट पहिचान गर्न कठिन हुने भएकाले डिएनए परीक्षणका लागि आवश्यक जैविक नमूना सङ्कलन गरिएको उनले जानकारी दिए ।
डेन्टल टोलीले विशेषगरी पछाडिका मोलार दाँतबाट डिएनएका लागि नमूना सङ्कलन गरिरहेको छ । प्रत्येक शवको ट्याग कोडअनुसार नमूना सङ्कलन गरिएको र भविष्यमा आफन्तबाट प्राप्त नमूनासँग मिलान गर्न सकिने गरी अन्य आवश्यक जैविक नमूनासमेत सुरक्षित राखिएको डा श्रेष्ठले बताए ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार शुक्रबारसम्म चारवटा फरेन्सिक विज्ञ टोली परिचालन गरिएकामा शनिबार थप सात जनाको चिकित्सकीय टोली परिचालन गरिएको थियो । फरेन्सिक टोलीमा भरतपुर अस्पतालका दुई, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरका एक–एक, भेरी अस्पतालका एक तथा नेपाल मेडिकल कलेजका एक जना चिकित्सक सहभागी छन् । डिएनए नमूना सङ्कलनलगायत अन्य चिकित्सकीय कामका लागि थप टोलीसमेत परिचालन गरिएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा प्रभास रोयले शवको दाँत तथा बङ्गाराबाट डिएनए नमूना सङ्कलन गरिएको बताए । दाँतबाट नमूना लिन दुई–दुई वटा दाँत सङ्कलन गरिएको र दाँत नभएका शवबाट हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाइएको उहाँले जानकारी दिए।
अस्पतालका प्रवक्ता डा सापकोटाले ठूलो सङ्ख्यामा शव एकैपटक ल्याइएकाले व्यवस्थापनमा चुनौती भए पनि स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारी परिचालन गरेर काम भइरहेको बताए । शवबाट सम्भावित रोग फैलिन नदिन अस्पतालले आवश्यक सतर्कता अपनाएको उनले जानकारी दिए ।
शव व्यवस्थापन तथा पहिचानको काममा जिल्ला सुरक्षा निकाय, स्वयंसेवक तथा विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् ।