रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः बाढी आएपछि रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
यसअघि भदौ १० गते आएको अकल्पनीय बाढीबाट त्रसित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा आज बिहानको बाढीले थप त्रास उत्पन्न गरेको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले बताउनुभयो ।
उहाँका अनुसार बिहान करिब ३ः३० बजेतिर ठूलो आवाजसहित नदीमा बाढी आएपछि नदीतटबाट माथिल्लो क्षेत्रमा रहेका धुञ्चेवासीसमेत सुरक्षित स्थानतर्फ सरेका थिए । उनीहरू अस्पताल क्षेत्र तथा खेलमैदानमा भेला भएर बसेका थिए ।
अहिले नदीमा पानीको बहाव घट्न थालेपछि स्थानीयवासी आआफ्नो घर फर्किन थालेका छन् ।
बाढी आएको जानकारी पाएलगत्तै छिमेकी जिल्ला नुवाकोटमा समेत सम्पर्क गरिएको र नुवाकोट प्रशासनले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन माइकिङ गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढी प्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ पठाइएको छ । पुनः आएको बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।