महोत्तरी । मिथिला क्षेत्रमा साउन शुक्ल तृतीयादेखि सुरु भएको सांस्कृतिक पर्व झुलनोत्सव साउन पूर्णिमाको मध्यरातसँगै सम्पन्न भएको छ।
मिथिला क्षेत्रमा साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने यस पर्वमा परम्पराअनुसार भगवान् विष्णु–लक्ष्मीका प्रतिमालाई विशेष झुलामा राखेर झुलाउने गरिन्छ। पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व समापन गर्ने परम्परा छ।
भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनामा आधारित यो पर्व मिथिलाका विभिन्न मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ। विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा कृष्ण–राधाका प्रतिमालाई कलात्मक झुला अर्थात् कोक्रामा राखेर झुलाउनु पर्वको मुख्य विधि हो। श्रद्धालुले झुलाको डोरी समाउँदै झुला गीत गाएर देवदेवीका प्रतिमा झुलाउने गर्छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवका अनुसार साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर यस वर्षको १३ दिने झुलनोत्सव सम्पन्न गरिएको हो। उनका अनुसार झुलनोत्सव वैष्णव परम्पराका मठमन्दिरमा मनाइने मिथिलाको पुरानो सांस्कृतिक परम्परा हो।
मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरको झुलनोत्सव विशेष प्रसिद्ध छ। पर्वका अवसरमा आसपासका मठमन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा ल्याएर मुख्य मठ तथा मन्दिरमा सामूहिकरूपमा उत्सव मनाउने चलन छ।
महोत्तरीका विभिन्न स्थानमा रहेका राम–सीता तथा राधा–कृष्णका प्रतिमा पनि मुख्य मठ तथा मन्दिरमा ल्याएर झुलनोत्सव मनाइएको थियो। विशेषगरी मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरको झुलाघरमा झुलनोत्सव भव्यरूपमा मनाउने परम्परा छ।
झुलनोत्सवकै लागि निर्माण गरिएको झुलाघरमा लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमालाई डोलीमा बोकेर ल्याई झुलामा राखेर झुलाउने गरिन्छ। मटिहानीमा नेपाल र भारतका दर्जनौँ मठमन्दिरबाट देवदेवीका प्रतिमा झुलाउन ल्याइएको महन्थ वैष्णवले जानकारी दिनुभयो।
पर्वभरि साधुसन्त तथा श्रद्धालु मठमन्दिरमा जम्मा भएर झुलनोत्सवमा सहभागी हुने गरेका थिए।