शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढी : शव व्यवस्थापनमा जटिलता, भरतपुर अस्पतालमा २३३ शव

शनिबार, भाद्र १३ २०८३

चितवन ।यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जटिलता देखिएको छ। नारायणी र त्रिशूली नदी किनारमा मानव तथा पशु चौपायाका शव र अङ्ग भेटिन थालेपछि तिनको उचित व्यवस्थापन चुनौतीपूर्ण बनेको हो।

नदी किनारमा फेला परेका शव एम्बुलेन्समार्फत भरतपुर अस्पताल ल्याउने गरिएको छ। अस्पतालमा शव राख्ने ठाउँ अभाव भएपछि टेन्टमुनि राख्नुपर्ने अवस्था आएको छ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शव कुहिने र दुर्गन्ध फैलिने समस्या आउन नदिन विशेष सावधानी अपनाउनुपर्ने बताए। उनका अनुसार यस्तो अवस्थामा पानीजन्य सङ्क्रमण फैलिने जोखिम हुन्छ।

अस्पतालमा ल्याइएका शवको सरसफाइ गरी अनुहारको तस्बिर लिने, शरीरमा रहेका पहिचानयोग्य चिह्न अभिलेख गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा तयार गरिएको अस्थायी शवगृहमा राख्ने गरिएको छ। शव व्यवस्थापनको क्षमता सीमित हुँदा नदीमा फेला परेका शव तत्काल अस्पताल ल्याउनसमेत कठिनाइ भइरहेको छ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालमा हालसम्म २३३ शव ल्याइएको छ। अस्पतालको शवगृहमा भने एकपटकमा २४ शव मात्र राख्न सकिने क्षमता छ। शवमध्ये चार जनाको पहिचान भएको छ। पहिचान हुनेमा रसुवाका मदन थापा मगर र भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी तथा नुवाकोटका रामकाजी पौडेल रहेका छन्।

क्षमता अभावका कारण शवगृहबाहिर टेन्ट राखेर शव व्यवस्थापन गरिएको छ। यससँगै अस्पतालमा उपचाररत बिरामीको व्यवस्थापनमा समेत समस्या भएको डा बगालेले बताए। निजी अस्पताल तथा मेडिकल कलेजले भरतपुर अस्पतालमा उपचाररत केही बिरामीलाई निःशुल्क उपचारका लागि व्यवस्थापन गरिदिए शव व्यवस्थापनमा सहज हुने उनको भनाइ छ।

“बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ,” डा बगालेले भने ।

शवगृह नजिकका भवनमा उपचाररत बिरामीलाई दुर्गन्ध तथा सम्भावित सङ्क्रमणबाट प्रभावित हुन नदिन अस्पतालले आवश्यक सतर्कता अपनाइरहेको उनले बताए ।

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरेले पनि शवको व्यवस्थापन यथाशीघ्र गर्नुपर्ने बताउनुभयो। लामो समयसम्म शव व्यवस्थापन हुन नसके झाडापखालादेखि फोक्सोसम्मका विभिन्न सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको उनको भनाइ छ।