महोत्तरी । मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीकका रूपमा ‘राखी’ पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने यो पर्व मिथिला परम्पराको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको छ।
पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम तथा सुख–समृद्धिको कामना गर्दै उनीहरूको दाहिने हातको नाडीमा रङ्गीबिरङ्गी राखी बाँध्ने गर्दछन्। मधेसका सबै जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ।
हिन्दू सनातन परम्परामा साउन पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्वलाई मिथिला क्षेत्रमा ‘राखी’ भन्ने चलन छ। यस अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने परम्परा पनि रहिआएको छ। यद्यपि मिथिलामा दिदीबहिनीले दाजुभाइलाई कलात्मक र रङ्गीबिरङ्गी राखी बाँध्ने प्रचलनले यस पर्वलाई विशेष बनाएको गौशाला–११ कालीपुरकी शिक्षिका सुनिता महतोले बताए।
राखी पर्वलाई लक्षित गर्दै केही दिनअघिदेखि नै मधेसका गाउँबस्ती तथा हाटबजारमा विभिन्न रङ्ग र डिजाइनका राखी बिक्रीका लागि राखिएका छन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने गीतले पनि बजार तथा बस्तीको वातावरण राखीमय बनेको छ।
यद्यपि यस वर्ष पर्वको मुखैमा आएको भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि विगतका वर्षजस्तो उल्लास भने नरहेको स्थानीयवासीले बताएका छन्।
“सदियौँदेखि चलिआएको पारम्परिक पर्व भएकाले हामी यसलाई मनाउँदै छौँ,” बर्दिबास–२ की अर्चना झाले भने, “तर बुधबारको भोटेकोशी बाढीले धेरै क्षति पुर्याएको छ। महोत्तरीका कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन्। यस्तो अवस्थामा केको उल्लास हुनु ?”
आपत् र विपत्तिका बीच पनि चाडपर्व तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनु नेपाली समाजको विशेषता रहेको बताउँदै उनले असहज परिस्थितिका बीच पनि पर्व मनाइरहेको उल्लेख गरे।
पर्वका लागि दिदीबहिनीले टाढाटाढा काम तथा बसोबास गरिरहेका दाजुभाइलाई एक साताअघिदेखि नै निमन्त्रणा गर्ने चलन छ। विवाहित दिदीबहिनीले धेरैजसो दाजुभाइलाई आफ्नै घरमा बोलाएर राखी बाँध्ने गर्दछन् भने अनुकूलताअनुसार उहाँहरू आफैँ माइतीघर जाने पनि गर्छन्।
अविवाहित दिदीबहिनी भने आफ्ना दाजुभाइसँगै घरमा रहने भएकाले उहाँहरूलाई पर्व मनाउन सहज हुने गर्दछ। एउटै घरमा बसोबास गरे पनि दिदीबहिनीले दाजुभाइलाई एक दिनअघि नै राखीको निम्ता दिने मैथिल परम्परा रहेको छ।
मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दासका अनुसार पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई सम्झने र दाजुभाइले उनीहरूको निमन्त्रणा स्वीकार गर्ने स्थापित मैथिल परम्परा रहेको छ।
राखीका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर विभिन्न मिष्टान्न परिकार खुवाउने गर्दछन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने चलन छ। मैथिल समुदायले यस पर्वलाई आपसी प्रेम, सद्भाव र समर्पणको भावनासँग जोडेर हेर्ने गरेका छन्।
संस्कृतिविद् तथा जलेश्वर–५ पतैलीका ध्रुव रायका अनुसार राखी पर्व मिथिलाको विशिष्ट सांस्कृतिक परम्परा र संस्कृतिसँग जोडिएको छ। उहाँका अनुसार मिथिला क्षेत्रमा विभिन्न जातजाति, धर्मसम्प्रदाय तथा फरक सांस्कृतिक पृष्ठभूमिका समुदायले समेत आपसी सद्भावका साथ यो पर्व मनाउने गर्दछन्।
मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन्। कात्तिक शुक्ल द्वितीयामा मनाइने भैयादूज तथा सोही पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व पनि दिदीबहिनीले दाजुभाइप्रति प्रेम र समर्पण प्रकट गर्ने प्रमुख पर्वका रूपमा रहेका छन्।
राखी पर्वको परम्परालाई लिएर विभिन्न धार्मिक जनविश्वाससमेत प्रचलित छन्। सत्ययुगमा तीनै लोकका अधिपति दानवराज बलिलाई उहाँका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको विजय भएपछि यो परम्परा सुरु भएको जनविश्वास रहेको छ।