शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उद्धार, राहत र पुनर्निर्माणमा खटिन एमाले महासचिव पोखरेलको आग्रह

शुक्रबार, भाद्र १२ २०८३

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका काममा पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय आवश्यकताअनुसार परिचालन गरिने बताएका छन् ।

बाढी प्रभावित नुवाकोटका विभिन्न स्थानको स्थलगत निरीक्षणपछि जिल्ला पार्टीका नेता तथा कार्यकर्तासँग कुरा गर्दै महासचिव पोखरेलले स्थानीय बासिन्दाले तयार पारेको योजना र आवश्यकताका आधारमा पार्टीका नेता तथा कार्यकर्ता खटिने बताएका हुन् ।

ठूला प्राकृतिक विपत्तिका समयमा पनि एमालेका नेता तथा कार्यकर्ताले श्रमदानमार्फत उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काममा योगदान पुर्‍याउँदै आएको स्मरण गर्दै उहाँले यसपटक पनि सोहीअनुसार जनशक्ति परिचालन गरिने बताए ।

“तपाईँहरूले योजना बनाउनुहोस्। कस्तो प्रकारको सीप भएका जनशक्ति आवश्यक पर्छ, भन्नुहोस्। पार्टीले त्यस्ता जनशक्ति पठाउँछ,” महासचिव पोखरेलले भने।

एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा पार्टीका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज प्रेम तामाङले बाढीले जिल्लामा पुर्‍याएको क्षतिबारे महासचिव पोखरेललाई जानकारी गराएका थिए ।