काठमाडौँ । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १२३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये २१ जना भारतीय पर्यटक र आठ जना अन्य विदेशी नागरिक रहेका छन्।
सेनाले उद्धार गरिएका विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पुर्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।
यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ। सोही आयोजनाका अन्य तीनवटा सुरुङमा रहेका व्यक्तिको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।