शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बिहानैदेखि हवाई उद्धार तीव्र

१२३ जनाको हवाई उद्धार

बिहिबार, भाद्र ११ २०८३

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार थालिएको छ। उद्धारका लागि तीन हवाई टोली परिचालन गरिएको छ।

त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा अन्य नागरिकको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको हो। आवश्यक चिकित्सक, सुरक्षाकर्मीका सञ्चार उपकरण, जेनेरेटरलगायत सामग्रीसहितको टोली धुन्चेतर्फ परिचालन गरिएको छ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आज बिहान नेपाली सेनाको श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा उच्चस्तरीय बैठकसमेत बसेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, आर्थिक मामिलामन्त्री तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सहभागी बैठकले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको थियो।

बाढी प्रभावित क्षेत्रमा मानिसहरू फसेको सूचना आएपछि उद्धार अभियान तीव्र पारिएको हो। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेका तीन जनालाई उद्धार गरी श्री नं. १ तालिम केन्द्र, नुवाकोट ल्याइएको छ।

बैठकमा उद्धारसँगै राहत वितरणलाई प्रभावकारी बनाउन तथा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा ल्याउन पनि जोड दिइएको थियो। सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार सेवा सुचारु गर्न निर्देशन दिएका छन् भने प्रमुख जिल्ला अधिकारी रेग्मीले उद्धारसँगै राहत वितरणलाई पनि प्राथमिकता दिइएको बताएका छन्।

१२३ जनाको हवाई उद्धार

नेपाली सेनाका अनुसार भोटेकोशी बाढीबाट जोखिममा परेका तथा प्रभावितमध्ये आज बिहानसम्म १२३ जनाको हवाई उद्धार गरिएको छ।

रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तथा अन्यलाई धुन्चे लैजाने तयारी भइरहेको सेनाले जनाएको छ।

त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा समेत उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि सकुशल उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी रहेको छ।

सरकारले बुधबारदेखि नै प्रभावित तथा नदी तटीय क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। जोखिममा परेका नागरिकका लागि नेपाली सेनाले बुधबार राति नै खाद्य सामग्री, टेन्ट र औषधिलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको थियो।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेका छन्। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली तथा सरकारी र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी उद्धार सुरु गरिएको थियो। सेनाका टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार कार्य जारी राखेका थिए।

आज बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी तथा नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसँगै पैदल टोलीलाई थप सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण सरकारी संयन्त्रलाई खोज, उद्धार तथा राहतमा केन्द्रित गरेको जनाएको छ।