काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशले अकल्पनीय रूपमा भोगिरहेको विपत्तिको सामना गर्न सरकार यथाशीघ्र उद्धार तथा राहत कार्यमा जुटिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपत्तिको घडीमा सिङ्गो देश, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा मिलेर सामना गरिरहेको बताएका छन्।
उनका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु गरिएको छ। बिहानदेखि १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरलाई पनि उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट सात जना नेपाली नागरिकलाई पनि सकुशल उद्धार गरिएको उनले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री पुर्याउने काम तीव्र रूपमा भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुङ्गा काट्ने मेसिनलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्याइँदैछ।
उनले प्रभावित क्षेत्रमा छिट्टै मोबाइल नेटवर्क र मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताए। नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको पनि उनले जानकारी दिएका छन्।
ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री शाहले बताएका छन्। यसबाट उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाउँदै उनले प्रभावित सबैलाई धैर्य र संयम अपनाउन आग्रह गरेका छन्। राज्यको सम्पूर्ण संयन्त्र उद्धार तथा राहत कार्यमा परिचालित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबै मिलेर यो विपद्को डटेर सामना गर्नुपर्ने बताएका छन्।