काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।
आइएफआरसीले नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय रूपमा खोज, उद्धार र राहत वितरणमा जुटिसकेको जनाएको छ। महासङ्घले विपद् प्रतिकार्य तथा प्रभावित समुदायको सहयोगका लागि आवश्यक प्रयासलाई निरन्तरता दिने जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावित समुदायसम्म तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग उपलब्ध गराइएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायसँग समन्वय गरी आवश्यकताअनुसार थप सहयोग परिचालन गर्न तयार रहेको उल्लेख गर्दै मानवीय सहयोग निरन्तर जारी रहने बताएका छन्।
महासचिव चापागाईंले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रूपमा खटिएर प्रारम्भिक राहत तथा सहयोगका काममा जुटिरहेको बताएका छन्। बाढीका कारण धेरैको ज्यान गएको, मानिस बेपत्ता भएको र ठूलो भौतिक क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले पीडित परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।