शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

त्रिशूली र नारायणी किनारमा शव खोजी जारी, हालसम्म ६४ शव भेटिए

बिहिबार, भाद्र ११ २०८३

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर जारी रहेको छ। हालसम्म विभिन्न स्थानबाट ६४ वटा शव तथा शरीरका अङ्ग फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये केही सग्लो अवस्थामा छन् भने केही शरीरका अङ्ग मात्र भेटिएका छन्। बरामद शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

तनहुँमा फेला परेका नौ वटा शव पनि चितवन पठाइएको थियो। तर भरतपुर अस्पतालको शवगृहमा पर्याप्त ठाउँ नभएपछि ती शव पुनः तनहुँ नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

शव खोजीका लागि जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। उनीहरूले त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।

भरतपुर अस्पतालको शवगृह भरिएपछि अब थप शव व्यवस्थापनका लागि औद्योगिक प्रतिष्ठानको कार्यालयलाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।