शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रसुवामा भीषण बाढी : रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बुधबार, भाद्र १० २०८३

काठमाडौँ । तिब्बततर्फबाट ठूलो बाढी आएपछि रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

सम्भावित क्षति न्यूनीकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राख्न र आवश्यक सबै कदम चाल्न सरोकारवाला निकायलाई सरकारले निर्देशन दिएको हो।

विशेषगरी रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अत्यावश्यकबाहेक यात्रा नगर्नसमेत सचेत गराइएको छ।

स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनीको पूर्ण पालना गर्न नागरिकलाई अपिल गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीको प्रभाव अन्य नदी तथा खोलामा समेत पर्नसक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।