काठमाडौँ । भोटेकोशी नदीमा तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको प्रारम्भिक जानकारी दिएका छन्।
उनका अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। बाढीले दर्जनौँ बस्ती तथा बजारमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीका कारण जिल्ला प्रहरी कार्यालयबाट समेत प्रभावित क्षेत्रका सुरक्षाकर्मी तथा स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताएका छन्। तटीय क्षेत्रमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीसमेत सम्पर्कविहीन भएको उनले जानकारी दिए।
बुधबार बिहान करिब ९ बजे रसुवाको टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको बताइएको छ। बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।