काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा परेको निवेदनका आधारमा पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने सम्भावना आफूले नदेखेको बताएका छन्।
बुधबार भिडियो सन्देश जारी गर्दै शर्माले कांग्रेसको जारी महाधिवेशन रोक्न अन्तरिम आदेश आवश्यक नदेखिनुका चार कारण प्रस्तुत गरेका हुन्।
उनका अनुसार फागुन २१ गतेको निर्वाचनपछि चैत ११, २०८२ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो। सर्वोच्च अदालतले वैशाख ४ मा गरेको फैसलामा समेत उक्त मिति उल्लेख रहेको उनले बताएका छन्।
शर्माले रिट वा पूरक निवेदन दर्ता हुँदैमा मागअनुसार अन्तरिम आदेश स्वतः जारी नहुने पनि बताएका छन्। ‘केस पुनरावलोकनमा छ भन्ने मात्र अन्तरिम आदेशको पर्याप्त आधार हो कि होइन भन्ने विषयमा अदालतले विचार गर्छ,’ उनले भनेका छन्।
महाधिवेशन प्रक्रियालाई लिएर असहमत नेताहरूको अधिकार प्रभावित नहोस् भनेर वडा तहको अधिवेशनको मिति भदौ २ बाट २२ दिन पछाडि सारिएको उल्लेख गर्दै शर्माले यस अवधिमा थप संवाद र सहमतिको अवसर रहेको बताएका छन्। त्यसैले कसैलाई अपूरणीय क्षति हुने अवस्था नरहेको उनको तर्क छ।
उनले कांग्रेसको केन्द्रीय समिति तथा पार्टीका सबै तहको समयावधि यही मंसिर मसान्तमा समाप्त हुने भएकाले महाधिवेशन थप पर धकेल्ने कानुनी आधारसमेत नभएको दाबी गरेका छन्।
कतिपयले मंसिरपछि थप छ महिनाको समयावधि लिन सकिने अनुमान गरे पनि कांग्रेसको विधानमा त्यस्तो व्यवस्था नरहेको शर्माको भनाइ छ। उनका अनुसार २०७५ मा सम्पन्न महासमिति बैठकबाट पारित पार्टी विधानको परिच्छेद १२ को दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण अवस्थामा केन्द्रीय कार्यसमितिले कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्ने व्यवस्था छ।
२०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनपछि चार वर्षको मूल अवधि र थप गरिएको एक वर्षको अवधि पनि यसै मंसिरमा सकिने भएकाले सर्वोच्च अदालतले संविधान र पार्टी विधानका व्यवस्थालाई समेत सूक्ष्म रूपमा हेर्ने उनले बताएका छन्।
असहमत पक्षका नेताहरूलाई सम्बोधन गर्दै शर्माले अदालत जाने अधिकारप्रति आफूहरू नकारात्मक नभएको स्पष्ट पारे। तर पार्टीका आन्तरिक विवादको समाधान पटक–पटक अदालतमा खोज्नुभन्दा पार्टीभित्रै संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिए।
‘इगोको चस्मा उतारेर पार्टी कार्यालयको कोठामा बसेर समाधानमा पुगौँ,’ शर्माले भनेका छन्, ‘सबै सँगसँगै अघि बढौँ भनेर खुला हृदयले हामी पर्खिरहेका छौँ।’