गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
आज बसेको एमाले गण्डकी प्रदेश संसदीय दलको बोर्ड बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिएका छन्।
“एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ,” उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलसँग एमालेले संवाद सुरु गर्छ।”
एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि दुई दल मिलेर पहल अघि बढाइने उनले बताए।
नेपाली कांग्रेस नेतृत्वको वर्तमान गण्डकी प्रदेश सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री तथा लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री रहेका छन्।
गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरू मन्त्री नियुक्त भएका थिए। एमालेको पछिल्लो निर्णयसँगै गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आउने देखिएको छ।