शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

मंगलबार, भाद्र ९ २०८३

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन्। महानगरपालिकाले अन्तिम विवरण टुङ्गो लगाएसँगै अर्को सातादेखि बस्ती व्यवस्थापन तथा स्थानान्तरणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार वडा तहको सहजीकरण समितिले दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि तयार पारेको अन्तिम विवरणमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवार भूमिहीन कायम भएका छन्। यस्तै, २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्।

महानगरले यसअघि भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई विवरण पेस गर्न आह्वान गरेको थियो। प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन परेको थियो। दाबी–विरोध तथा संशोधनका निवेदनमाथि छानबिन र परीक्षणपछि अन्तिम सूची तयार गरिएको हो।

वडा तहको सहजीकरण समितिले अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको थियो। वडा समितिले सहजीकरण समितिको प्रतिवेदन नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ।

महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया निर्णायक चरणमा पुगेको बताए। उनले कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यले छानबिन तथा दाबी–विरोधको प्रक्रिया पूरा गरिएको बताए।

अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

प्रक्रिया समयमै सम्पन्न भए अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु हुने नगरप्रमुख आचार्यले बताए। सबै सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित रूपमा स्थानान्तरण गरिने उनको भनाइ छ।

बसपार्कभित्रका सुकुमबासीले पनि निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि सुकुमबासी बाधक नबन्ने तर बसपार्क खाली गर्नुअघि आफूहरूको वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताए।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। योजना बनेको पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रका सडकपेटी र फुटपाथबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन्।

बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा सुकुमबासी तथा अन्य व्यक्तिले अतिक्रमण गरेपछि निर्माण अघि बढ्न सकेको थिएन। पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर तथा कवलसमेत हटाएको छ। जग्गा खाली भएपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको छ।