शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बागमती प्रदेशका सांसद पदमुक्त हुनुभएको छैन : ज्ञानेन्द्र शाही

मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका राप्रपाका सांसदहरू पदमुक्त नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहीले सांसदहरूमाथि कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको बताएका हुन्।

उनले प्रदेशसभा सचिवालयमा कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने बताए। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसदहरूलाई पदमुक्त भएको भनेर प्रचार गर्नु उचित नहुने उनको भनाइ छ।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ शाहीले भनेका छन्।

सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसद पदमुक्त भएको भन्दै समाचार बनाउँदा गलत सन्देश फैलिने उनले बताए। पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कसरी बलियो हुन्छ भन्ने प्रश्नसमेत उनले गरेका छन्।

पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीका लागि निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने उनले स्पष्ट पारे।

बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको उल्लेख गर्दै शाहीले भावनामा नभई तथ्यका आधारमा बोल्न र गलत सूचनाको सट्टा सत्य कुरा प्रचार गर्न आग्रह गरेका छन्।