शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कम्युनिष्ट शक्तिबीच एकता र सहकार्य आवश्यक : प्रचण्ड

सोमबार, भाद्र ८ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण बनेको बताएका छन्।

उनले राष्ट्रिय स्वाधीनता र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिमाथि गम्भीर चुनौती देखिएको भन्दै विचार मिल्ने राजनीतिक शक्तिबीच एकता, सहकार्य र साझा मोर्चा आवश्यक रहेको बताए ।

सोमबार काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिकै गम्भीर संकट देखिएको दाबी गरे । उनले वैदेशिक तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढ्दै गएको बताए ।

दाहालले विगतमा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिबीच साझा मोर्चा निर्माण गर्नुपर्ने बताए । तत्कालीन मुद्दामा सहकार्य र विचार मिल्ने दलबीच पार्टी एकता अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

उनले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको मुख्य कारण सत्ता केन्द्रित राजनीति भएको बताए । विगतमा कम्युनिष्ट दलहरू सरकार बनाउने र ढाल्ने खेलमा सीमित हुँदा नागरिकका वास्तविक मुद्दा ओझेलमा परेको उनले बताए ।

अबको सहकार्य सरकारमा सहभागी हुने उद्देश्यमा मात्र सीमित हुन नहुने बताउँदै दाहालले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी नागरिकका मुद्दामा आधारित नयाँ र सशक्त आन्दोलन निर्माण गर्नुपर्ने बताए ।

विगतका कमजोरीमा एकअर्कालाई दोष दिनुभन्दा राजनीतिक शक्तिहरूले सामूहिक आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । एमालेसहित विभिन्न वामपन्थी दलसँग भएका विगतका सहकार्य र पार्टी एकताबाट पाठ सिक्दै पुराना गल्ती नदोहोरिने गरी रणनीतिक योजनासहित अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख : ज्ञवाली

कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक संस्था र नागरिकका स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको बताए ।

ज्ञवालीले सरकार संसद्, राष्ट्रपति, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमलाई कमजोर पार्दै स्वेच्छाचारी ढंगले अघि बढिरहेको दाबी गरे । संसद्मा सरकारसँग झण्डै दुईतिहाइ नजिकको जनमत रहेकाले त्यसकै दम्भमा सरकार स्वेच्छाचारी बनेको उनको आरोप थियो ।

सरकारले बहुमतको दुरुपयोग गर्दै भविष्यमा संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने सम्भावनाप्रति पनि उनले चिन्ता व्यक्त गरे । प्रतिनिधिसभामा संविधान निर्माण र परिवर्तनका पक्षमा उभिएका शक्तिको कमजोर उपस्थिति लोकतन्त्रका लागि चुनौतीपूर्ण भएको उनले बताए ।

ज्ञवालीले सरकारले सामाजिक सञ्जालमार्फत आलोचनात्मक मतलाई दबाउन खोजेको आरोप पनि लगाए । सरकारका गलत कामको विरोध गर्ने तथा असहमति राख्ने नागरिकमाथि साइबर बुलिङ, चरित्रहत्या र मानसिक दबाब सिर्जना भइरहेको उनले दाबी गरे ।

वर्तमान परिस्थितिमा वामपन्थी र कम्युनिष्ट शक्तिको जिम्मेवारी थपिएको बताउँदै उनले समाजवादी आन्दोलनसँगै लोकतन्त्र, संविधान, राष्ट्रियता, जनजीविका र सामाजिक सद्भावको संरक्षणका लागि साझा सहकार्य आवश्यक रहेको बताए ।