शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

आइतबार, भाद्र ७ २०८३

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए।

यसैबीच, गरिमा चौधरीमाथि भएको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ सुरु भएको छलफल राति १ बजेसम्म चलेपछि सरकार र पीडित परिवारबीच सहमति भएको हो।

छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्री, सरकारका प्रतिनिधि तथा गरिमा चौधरीका अभिभावक सहभागी थिए।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर तथा सजायसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गरिने भएको छ। त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्ने सहमति भएको छ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पहल गर्ने भएको छ।

पीडित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि गर्न पाउने विषयमा पनि सरकार र परिवारबीच सहमति भएको जनाइएको छ।