काठमाडौँ । नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू आज आ–आफ्नो घर फर्किएका छन्।
सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो। सहमतिपछि सरकारले आज बिहान साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत बिदाइ गरिएको थियो। उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लातर्फ पठाइएको जनाइएको छ।
सरकार र ऋणी पक्षबीच भएको सहमतिपछि लामो समयदेखि पुल्चोकमा जारी धर्ना कार्यक्रमसमेत स्थगित भएको छ।