काठमाडौँ । लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन गर्न रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा तोकिएको समयबाहेक सवारीसाधन चलाउन नपाइने जनाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको छ। सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण अवरुद्ध सडक तथा पहिरो र बाढीको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेर यात्रा गर्नसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ।