शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भक्तपुरका किरण थापा मगरको राजनीतिक यात्रा: वडाध्यक्षदेखि बागमतीको मुख्यमन्त्रीसम्म

शुक्रबार, भाद्र ५ २०८३

मकवानपुर। बागमती प्रदेशको सातौँ मुख्यमन्त्रीका रूपमा बिहीबार नियुक्त किरण थापा मगरको राजनीतिक यात्रा स्थानीय तहको वडाध्यक्षबाट सुरु हुँदै प्रदेशसभा सदस्य, मन्त्री र अन्ततः मुख्यमन्त्रीसम्म पुगेको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा विसं २०३३ भदौ १४ गते जन्मिनुभएका थापा मगर सामान्य परिवारबाट राजनीतिक र सामाजिक यात्रामा अघि बढेका छन्। उनका पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगर हुन्।

प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका उनी सानैदेखि सामाजिक गतिविधिमा रुचि राख्दै आएका थिए । विसं २०४७ देखि निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय थापा मगरले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका छन् ।

२०७४ मा वडाध्यक्ष, २०७९ मा प्रदेशसभा सदस्य

थापा मगर २०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षको जिम्मेवारीसँगै उनी नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बनेका थिए ।

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दागर्दै उनको राजनीतिक यात्रा प्रदेश तहसम्म विस्तार भयो। विसं २०७९ मा उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा सदस्य बनेपछि उनले प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभयो। विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हालेका छन्।

सामाजिक संस्थादेखि खेलकुद र व्यवसायसम्म सक्रियता

थापा मगर लामो समयदेखि विभिन्न सामाजिक सङ्घसंस्थामार्फत समुदायसँग जोडिँदै आएका छन्। केदारनाथको शिरका रूपमा परिचित डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्लेका उनी धार्मिक तथा सामाजिक अभियानमा समेत सक्रिय छन् ।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल काम गर्नुभएका थापा मगर रेडक्रसको विशिष्ट सदस्यसमेत रहेका छन् ।

उनको संलग्नता खेलकुद र आर्थिक क्षेत्रमा पनि रहेको छ। नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबका संरक्षकका रूपमा उनले जिम्मेवारी निर्वाह गरेका छन्। सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी आबद्ध रहेका छन् ।

वडाध्यक्षको सुविधा नलिई अक्षयकोष स्थापना

थापा मगरले वडाध्यक्षका रूपमा कार्यरत रहँदा आफूले पाउने सेवा–सुविधा नलिएको बताउँदै आउनुभएको छ। सो सुविधाबापत बचत भएको करिब १५ लाख रुपैयाँबाट उनले अक्षयकोष स्थापना गरे। उक्त कोषमा हाल करिब ४० लाख रुपैयाँ पुगेको उनले बताए छन्।

विसं २०७२ को विनाशकारी भूकम्प र २०७५ को हनुमन्ते बाढीका बेला उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका खेलेको उनले स्मरण गरे। कोरोना महामारीका क्रममा पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्‍याउने काममा आफू सक्रिय रहेको उनी बताउँछन् ।

राजनीति र सामाजिक सेवासँगै उनी निजी व्यवसायमा पनि संलग्न छन्। निजी व्यवसायमार्फत ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएको उनको दाबी छ। युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा पनि आफू सक्रिय रहेको उनले बताउँदै आएका छन्।

अब मुख्यमन्त्रीका रूपमा नयाँ जिम्मेवारी

सामाजिक संस्था, स्थानीय सरकार, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारी पूरा गर्दै थापा मगर अब बागमती प्रदेशको नेतृत्वमा पुगेका छन्। वडाध्यक्षबाट सुरु भएको उनको राजनीतिक यात्रा प्रदेशसभा सदस्य र मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको हो।

पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्दै मुख्यमन्त्री बनेका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन रहेको दाबी गरिएको छ। अब उनले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने दलहरूलाई साथमा लिएर प्रदेश सरकारलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने चुनौती छ।

संघीयताको मर्मअनुसार प्रदेश सरकार सञ्चालन गर्दै बागमती प्रदेशका नागरिकको अपेक्षाअनुसार काम गर्ने दायित्व अब मुख्यमन्त्री थापा मगरको काँधमा आएको छ।