काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासँगै हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्यतया बदली रहने तथा अन्य तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख छ।