काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो। प्रहरीले गरेको मागअनुसार अदालतले श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसैबीच, श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आजै सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।
श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।