शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

सोमबार, भाद्र १ २०८३

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतावासले काठमाडौंमा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।

पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का निवर्तमान अध्यक्षसमेत रहेका नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सन् १९६० मा नेपाल र इन्डोनेसियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए। विशेषगरी व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुईपक्षीय सहकार्य विस्तार भइरहेको उनको भनाइ थियो।

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमले इन्डोनेसियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै नेपाल र इन्डोनेसियाबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

नेपाल र इन्डोनेसियाबीच व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य बढ्दो क्रममा रहेको छ। नेपालले इन्डोनेसियाबाट खाद्य तेल, कोइला तथा पेट्रोलियम पदार्थ, कागज र कागजजन्य वस्तुलगायत सामग्री आयात गर्दै आएको छ। नेपालबाट भने छाला, चिया, कफी तथा हस्तकलाजन्य वस्तु इन्डोनेसिया निर्यात हुने गरेको छ।

दुई देशबीच रहेको व्यापार असन्तुलन न्यूनीकरण गर्न नेपालबाट निर्यात बढाउनुका साथै इन्डोनेसियाली प्रत्यक्ष लगानी आकर्षित गर्न थप संयुक्त प्रयास आवश्यक रहेको वाणिज्य दूतावासले जनाएको छ।

ढकालले नेपालमा रहेका इन्डोनेसियाली समुदायका सदस्यहरूको सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा दुई देशबीचको सहकार्य थप विस्तार गर्न अवैतनिक वाणिज्य दूतावास प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नेपालस्थित इन्डोनेसियाली समुदायका सदस्य, वाणिज्य दूतावासका कर्मचारी, आइएमई ग्रुपअन्तर्गतका विभिन्न संघसंस्थाका नेतृत्व तथा प्रतिनिधि, शुभचिन्तक तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।