काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ।
श्रेष्ठको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो।
यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले पत्रकार श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
इजलासले आधार र कारणसहित भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
त्यस्तै, जाहेरी दरखास्तसहितको अनुसन्धान फाइल तथा श्रेष्ठको घर र कार्यालयबाट बरामद गरिएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत अदालतमा उपस्थित गराउन आदेश दिइएको थियो।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
श्रेष्ठको पक्राउपछि पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विभिन्न क्षेत्रबाट चासो व्यक्त हुँदै आएको छ। बन्दी प्रत्यक्षीकरण रिटमा आज हुने सुनुवाइपछि उनको हिरासतसम्बन्धी विषयमा अदालतको आदेश आउनेछ।