काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो समय पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत क्षेत्रमा अत्यधिक वर्षा भएको छ। यस्तै स्याङ्जा र नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन गरिएको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, भू–क्षय तथा सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।