शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकार निर्माणमा बढी केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : शंकर पोखरेल

सोमबार, भाद्र १ २०८३

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वामपन्थी शक्तिहरू पार्टी संगठन र आन्दोलन सुदृढीकरणभन्दा सरकार निर्माणमा बढी केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहस कार्यक्रममा बोल्दै पोखरेलले सरकारलाई मात्रै शक्ति आर्जन र परिवर्तनको माध्यम ठान्ने प्रवृत्तिको समीक्षा गर्नुपर्ने बताए।

उनका अनुसार विगतमा मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकार र संविधान निर्माणपछि केपी शर्मा ओली नेतृत्वको सरकारले छोटो अवधिमै उल्लेख्य जनमत निर्माण गर्न योगदान गरेका थिए। तर त्यसपछिका कम्युनिष्ट सरकारहरूले भने क्रमशः जनमत क्षयीकरण गरेको उनको निष्कर्ष छ।

पोखरेलले कम्युनिष्टहरू संघर्ष र क्रान्तिको अवस्थामा सक्रिय हुने भए पनि शान्तिपूर्ण प्रतिस्पर्धामार्फत शक्ति आर्जन गरी त्यसलाई सुदृढ गर्दै समाजवाद निर्माण गर्ने विषयमा चुकेको बताए।

उनले भने, ‘हामी कम्युनिष्टहरू संघर्ष र क्रान्तिका कुरामा बढी उत्तेजित हुँदा रहेछौँ। लोकतन्त्रमाथि संकट आयो भने यो शक्ति लोकतन्त्र पुनःस्थापित गर्ने सामर्थ्य राख्दछ। तर हामी कहाँ चुक्यौँ भने शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट शक्ति स्थापना गर्ने र त्यो शक्तिलाई सञ्चित गरेर समाजवाद निर्माण गर्ने कुरामा हो।’

सरकारमार्फत जनमत निर्माण गर्ने विषयलाई मात्रै केन्द्रमा राख्दा पार्टी र आन्दोलन कमजोर बनेको उनको भनाइ थियो। उनले मनमोहन अधिकारी नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारको छोटो कार्यकालले असाधारण जनमत निर्माण गरे पनि त्यसपछिका सरकारहरूले त्यसलाई जोगाउन नसकेको बताए।

‘आज कम्युनिष्ट आन्दोलन किन कमजोर भयो भन्दा पार्टीसँग कम र सरकार निर्माणको सन्दर्भमा ज्यादा जोडिएको छ भन्ने मलाई लाग्दछ,’ पोखरेलले भने।

महासचिव पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनबारे पनि गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए। पार्टी र आन्दोलनलाई बलियो नबनाई सरकार निर्माणलाई मात्रै प्राथमिकता दिँदा कम्युनिष्ट आन्दोलनले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो।

उनले लोकतन्त्रमाथि संकट उत्पन्न भए लोकतन्त्रको रक्षाका लागि वामपन्थी शक्तिहरू तयार रहेको दाबी गर्दै अब भने शान्तिपूर्ण प्रतिस्पर्धाबाट प्राप्त राजनीतिक शक्तिलाई संगठन र आन्दोलन सुदृढीकरणमा उपयोग गर्नुपर्नेमा जोड दिए।