इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउँदै विधि, विधान र प्रक्रियाविपरीत गतिविधि गर्नेलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ को संज्ञा दिए ।
पार्टीको आफ्नै विधि, विधान, प्रक्रिया र नेतृत्व परिवर्तनको निश्चित समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको चर्चा गर्नु हास्यास्पद भएको बताए । महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चिया पसल वा क्यान्टिनमा बसेर हटाउने कुरा गर्नु पार्टीको विधि र विधानविपरीत भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले भने, “पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो । अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो ।”
उनले महाधिवेशन भर्खरै सम्पन्न भएको अवस्थामा नेतृत्व परिवर्तनको विषय उठाउनु उचित नभएको बताउँदै पार्टीको निर्णय र नेतृत्वप्रति विश्वास राख्न कार्यकर्तालाई आग्रह गरे ।
बाह्य शक्ति र राजनीतिक विरोधीबाट पार्टीमाथि तीव्र प्रहार भइरहेको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा पार्टीको सम्पूर्ण पंक्ति एकजुट भएर सामना गर्नुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने चेतावनी दिए ।
ओलीले सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने गतिविधि रोक्नसमेत आग्रह गरे । पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन अनिवार्य रूपमा पालना गर्नुपर्ने उनको भनाइ थियो ।
।