शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जाजरकोटमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जना अझै बेपत्ता

आइतबार, साउन ३१ २०८३

जाजरकोट । अविरल वर्षापछि भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी जारी छ ।

शनिबार साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो ।

यसैगरी, पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएका कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पहिरोमा परी भेरी नगरपालिका–२ का ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धीबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् ।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि क्रमशः नेपालगञ्ज र सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । पहिरोपछि घरबाट बाहिरिएका हरिस त्यसपछि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।