शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जाजरकोटमा पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

आइतबार, साउन ३१ २०८३

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार बेपत्ता हुनेमा भेरी–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्।

पहिरोमा परी घाइते हुनेमा भेरी–२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की र ४५ वर्षीय सिद्धिबहादुर कामी तथा भेरी–१ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन्।

घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताएका छन् ।

घाइतेको उद्धार तथा खोजी कार्यका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको छ।

यसैबीच, पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुङ्गामाटोले बनेको छकोठे दुईतले कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। सोही गाउँका भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरासमेत पहिरोले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण जाजरकोटका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।