काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक निराशा, राष्ट्रियता र संविधानमाथिको चुनौती तथा पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्न कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकता, लोकतान्त्रिक मूल्यको संरक्षण र मुलुकको वर्तमान संकट सामना गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन्।
देउवा : निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको
निवर्तमान सभापति देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् ।
उनले राणाकालीन अवस्था, तत्कालीन गरिबी तथा निरंकुश निर्दलीय व्यवस्थाविरुद्ध कांग्रेसले गरेको संघर्षबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए। अग्रजहरूले बलिदानीपूर्ण संघर्ष गरेर मुलुकलाई वर्तमान अवस्थामा ल्याएको उल्लेख गर्दै उनले इतिहास बिर्सिए सही राजनीतिक गन्तव्यमा पुग्न नसकिने बताए ।
“समाजमा अहिले पनि निराशा देखिएको छ। यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ। यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ,” देउवाले भने ।
विगतमा केही पनि नभएको र भएका सबै कुरा खराब थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकलाई थप कमजोर बनाउने चेतावनी दिए।
देउवाले राजनीतिक परिवर्तन र अग्रजहरूको योगदानको इतिहास नयाँ पुस्तामाझ पुर्याउँदै इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
कोइराला : राष्ट्रियता र अस्तित्व संकटमा
कांग्रेस नेता डा. शेखर कोइरालाले मुलुकको अस्तित्व र राष्ट्रियता गम्भीर संकटमा रहेको दाबी गर्दै त्यसको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।
पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिले मुलुकलाई गम्भीर मोडमा पुर्याएको उल्लेख गर्दै उनले कांग्रेसभित्रको विभाजित मानसिकता अन्त्य गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य उपचारपछि करिब पाँच महिनामा स्वदेश फर्किनुभएका देउवाको स्वागत गर्दै कोइरालाले कांग्रेस सबैलाई समेटेर अघि बढ्ने र निरंकुशता स्वीकार नगर्ने पार्टी भएको बताए ।
पार्टीभित्रको आन्तरिक विभाजन अन्त्य गरी संगठनलाई एकढिक्का बनाउन सके मात्रै अन्य राजनीतिक दल तथा शक्तिसँग सहकार्य र एकताको वातावरण निर्माण हुने उनको भनाइ थियो।
“मुलुक अहिले अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। देशको अस्तित्व र राष्ट्रियतामाथि खतरा उत्पन्न भएको छ। यो परिस्थिति किन निर्माण भयो भन्नेबारे हामीले गम्भीर समीक्षा गर्न आवश्यक छ,” कोइरालाले भने।
उनले संसद्को अवस्था, प्रेस स्वतन्त्रता तथा न्यायपालिकाको स्वतन्त्रताका विषयमा समेत चिन्ता व्यक्त गर्नुभयो। प्रेस स्वतन्त्रतामाथि अँध्यारो बादल देखिन थालेको भन्दै उहाँले त्यसलाई चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
खड्का : राष्ट्रियता र संविधान जोगाउन कांग्रेस एकता आवश्यक
पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको बताए।
राष्ट्रियताको रक्षा गर्न पार्टीभित्रको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रवादी शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको धारणा राखे ।
वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिँदै स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको खड्काले दाबी गरे ।
मुलुकका विभिन्न क्षेत्रमा देखिएका जातीय तथा धार्मिक द्वन्द्वका घटनातर्फ संकेत गर्दै उनले ती घटना भयावह भविष्यको ‘ट्रेलर’ मात्र हुनसक्ने चेतावनी दिनुभयो। मधेशमा देखिएको पछिल्लो अस्थिरताले मुलुकलाई तरंगित बनाएको भन्दै उहाँले समयमै सचेत हुनुपर्ने बताए ।
“अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ। यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ,” खड्काले भने ।
छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अघि बढाउन नसके देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
पार्टीभित्रको विवादतर्फ संकेत गर्दै खड्काले विशेष महाधिवेशन वा अन्य कुनै नाममा गरिने अवैधानिक गतिविधिले संगठनलाई हित नगर्ने बताउनुभयो। नेतृत्वले भएका कमजोरी सच्याएर पार्टीलाई एकताको बाटोमा फर्काउनुपर्ने उनको धारणा थियो।
सिटौला : निर्वाचन आयोगको निर्णयले निष्पक्षतामाथि प्रश्न
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि गतिविधिले संगठनलाई हित नगर्ने बताए ।
वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र राष्ट्रिय स्वाधीनताको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
पार्टीको आन्तरिक विवादमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै सिटौलाले आयोगको कार्यशैलीमाथि प्रश्न उठाए। पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नदिई विशेष महाधिवेशनलाई मान्यता दिनु न्यायसंगत नभएको उनको दाबी थियो।
“पक्ष र विपक्षको कुरा सुन्दै नसुनी, आधिकारिक रेकर्ड नै नहेरी आयोगले कसरी यस्तो निर्णय गर्न सक्छ ? यस्तो प्रवृत्तिले निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ,” सिटौलाले भने ।
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनको ढोका खोलेको भन्दै उहाँले आयोगले त्यसलाई आफ्नो गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्ने बताए ।
“हठ र अहंकारले सही गन्तव्य तय गर्न सकिँदैन,” उनले भने।
सिटौलाले कांग्रेस सभापति गगन थापाले समेत पछिल्ला निर्णय तथा प्रक्रियामा भएका गल्ती सच्याएर पार्टीलाई विधि, विधान र लोकतान्त्रिक पद्धतिअनुसार अघि बढाउन पहल गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय भेलामा नेताहरूले व्यक्त गरेका धारणाको मूल सन्देश पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकढिक्का बनाउने, लोकतान्त्रिक संस्थाको संरक्षण गर्ने र मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक संकटको सामना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा केन्द्रित देखिएको छ।