काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटान हुँदा सडक यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवागमन अवरुद्ध तथा समय तोकेर बन्द गरिएको जनाएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भू–स्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले सडक तथा पहाडी क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।