शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

शुक्रबार, साउन २९ २०८३

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई पक्राउको कारणसहित बरामद गरिएका सामग्रीसमेत लिएर उपस्थित गराउन आदेश दिएको हो।

श्रेष्ठकी श्रीमती सरस्वतीले उनका पति गैरकानुनी रूपमा पक्राउ परेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्रीसमेत बरामद गरेको थियो।

श्रेष्ठमाथि अनुसन्धान गर्न अदालतले बिहीबार तीन दिनको म्याद दिएको थियो। सोही क्रममा उनकी श्रीमतीले पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन्।

रिटमाथिको सुनुवाइपछि सर्वोच्चले श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो।