शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन’ : सांसद सुनार

शुक्रबार, साउन २९ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचार तथा अनियमिततासम्बन्धी आरोप छानबिन गर्नुपर्ने बताएका छन्।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा प्रहरी प्रमुख कार्कीमाथि गम्भीर आरोप लागेकाले तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने धारणा राखेको सुनारले बताएका छन्। आफ्नो आरोपको जवाफ दिने क्रममा आईजीपी कार्कीले आफूलाई ‘पाषाणयुगीन सोच भएका शासक’ भनेको उनको दाबी छ।

कार्कीले आफूविरुद्ध बिना प्रमाण आरोप लगाइएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएपछि सुनारले लेखा समितिको बैठक बहिष्कार गरेर बाहिरिएका थिए। उनको उक्त कदमप्रति अन्य दलका सांसदसँगै रास्वपाका सांसद गोविन्द पन्थीलगायतले पनि आलोचना गरेका थिए।

आलोचनापछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुनारले भ्रष्टाचार, घोटाला र अनियमितताविरुद्ध आफूले निरन्तर प्रश्न उठाइरहने बताएका छन्।

‘१ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ ! भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति ! राज्यको आर्थिक हिसाब–किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ,’ उनले लेखेका छन्।

जनताको हितका लागि आफू तितो बोल्नसमेत पछि नहट्ने उनको भनाइ छ। उनले जनताको जीवन सहज बनाउने उद्देश्यले आवश्यक परे अझ कडा रूपमा प्रश्न उठाउने बताएका छन्।

भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउनु जोखिमपूर्ण भए पनि त्यसबाट पछि नहट्ने उल्लेख गर्दै सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनैपर्छ’ भनेका छन्।

बुधबारको घटनालाई संकेत गर्दै उनले बर्दी र फुली देखाएर धम्क्याउँदैमा आफूले उठाएका प्रश्न टुंगिन नसक्ने दाबी गरेका छन्।

सुनारले आफू प्रहरीका तल्लो तहका कर्मचारी तथा दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा रहेको स्पष्ट पारेका छन्। गरिब परिवारका छोराछोरी सिपाही, हवल्दार तथा म्यादी प्रहरीका रूपमा कार्यरत रहेको उल्लेख गर्दै उनले उनीहरूको हितलाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

प्रहरीका जुत्ता, मोजा, पोसाक तथा रासन खरिदसँग सम्बन्धित विषयमा ठूलो रकमको गम्भीर प्रश्न उठेको दाबी गर्दै उनले त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

आईजीपी कार्कीप्रति लक्षित गर्दै सुनारले भनेका छन्, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो–प्रवचन दिने होइन ! जुत्ता लगाउने हो–खाने होइन !!’

उनले आफूले उठाएका प्रश्न व्यक्तिगत नभई राज्यको आर्थिक अनुशासन, प्रहरी संगठनभित्रको पारदर्शिता र सार्वजनिक स्रोतको सदुपयोगसँग सम्बन्धित रहेको दाबी गरेका छन्।